Friday, 18 January 2013

डेकेन्द्रले लेखेका थिए- 'म मर्दा जनताको मुक्ति हुन्छ भने हाँसी हाँसी मर्न तयार छु'


काठमाडौं, माघ ५ - दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्या अभियुक्तलाई प्रहरीले पक्राउ गरे पनि कारबाही नगर्न प्रधानमन्त्री स्वयंले निर्देशन दिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई, उनका कानुनी सल्लाहकार महान्यायाधीवक्ता मुक्ति प्रधान र प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको निर्देशनविरुद्ध सर्वोच्चको आदेशले पीडित परिवारले राहत महसुस गरेका छन् ।
सर्वोच्चको आदेशपछि अभियुक्तको बयान कमसेकम जारी छ । ८ वर्षअघिको यस हत्या प्रकरणले राजनीति नै ओझेलमा पारेकाबेला तत्कालिन विद्रोही माओवादीले कब्जामा लिएकाबेला डेकेन्द्रले लेखेको पत्र प्राप्त भएको छ । अपहरणबाट फुत्किन नपाउँदै माओवादीले डेकेन्द्रलाई तड्पाएर मारेका थिए ।
उनको पत्र यस्तो थियो
प्रिय श्रीमती तथा छोरा छोरीमा शुभप्यार
पत्रर सामान प्राप्त भयो, खुशी लाग्यो । म यहाँ एकदमै राम्रोसँग बसेको छु । खाने कुरामा जे चाहे पनि पाएको छु । पार्टीका साथीहरुसँग हाँसखेल गरेजस्तै छ । त्यसकारण मेरो विषयमा कुनै पनि चिन्ता नमान्नु । आफ्नो र छोराछोरीको स्वास्थ्यको विचार गर्नु । हालसम्म पार्टीले मलाई अरु कब्जामा परेका व्यक्तिहरुभन्दा एकदमै सम्मान गरेको बसालेको छ ।
यदि म मरेर नेपालको जनयुद्धलाई सफलता मिल्छ भने नेपाली जनताको मुक्ति र उज्जवल भविष्यको लागि म हाँसी हाँसी मर्न तयार हुनेछु । त्यो मृत्युलाई तिमिले आफ्नो गौरव सम्झनु ।
मैले जेठानलाई पत्र पठाएको थिएँ, प्राप्त भयो भएन । रमालाई बोलाएर माथी आफूसँग राख्नु । मेरो विषयमा  कसैसँग कुरा नगर्नु ।
छोरा छोरीको मन दुखाउने काम केही पनि नगर्नु । मेरा सवै कपडाहरु धोएर पट्याएर राख्नु ।
केही खबर भए लेखेरै नौमूले सन्त ब. चन्दले पाउने गरी पठाउनु । म पनि यताबाट खबर पठाउँदै गरौंला ।
यताबाट मान्छे आउने भए म जुम्ली आलु किनेर पठाउँला, यहाँ आलु एकदमै धेरै पाइन्छ ।
नगरपालिकाका सवै साथी अगाडि होटलवाला अध्यक्ष मल्ललाई सम्झना भनिदिनु बाँकी भेटमा ।
डेकेन्द्र थापा
२०६१/४/९
बाँकी पत्रवाला मीन प्र. सँग थाहा हुनेछ, हामी एकरात यहाँ सँगै बस्यौं ।
लाई
श्रीमती लक्ष्मी थापा
नयाँबजार
दैलेख
यो पत्र पठाएको एक महिना तीन दिनपछि थापाको हत्या भएको थियो ।

साभार: कान्तिपुर 

No comments:

Post a Comment